म्याग्दी जेठ, १० – उत्तरी म्याग्दीको भगवती–२, बैंसरीमा खसेको भीषण पहिरोका कारण मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको छ । राम्चे–९ काफलडाँडानजिकै पहाड खसेर गएको निरन्तरको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएको हो ।
राती २ बजे ठूलो पहिरो खसेपछि अहिले कालीगण्डकी नदी थुनिएको छ । पूर्णरुपमा खोला थुनिएपछि नदी किनारामा बस्दै आएका बस्दै आएका बासिन्दालाई वस्ती खाली गरी सुरक्षित ठाउँमा जान निर्देशन दिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले बताउनुभयो । रातको समयमा लगातार पहिरो खसिरहेको र अँध्यारो भएका कारण नदी थुनिएको ठाउँमा कोही पनि जान नसकेको उहाँले बताउनुभयो ।
गलेश्वर र बेनीबजारको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्क रहन आग्रह गरिएको छ भने कति पहाड खसेको भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मध्यरातदेखि नै नदी थुनिएपछि बाँध फूटेर एकैपटक बाढी आउने खतरा भएपछि गलेश्वर, बेनीबजार, पर्वत बेनी र बगर लगायत ठाउँका बासिन्दाले बस्दै आएको बजार र स्थान छाडिसकेका छन् ।
म्याग्दी प्रहरीले बाढी आउने सम्भावना भएकाले बजार क्षेत्रमा माइकिङसहित सुरक्षाका लागि सचेत रहन आग्रह गरेको छ ।
थुनिएको नदी खुलाउनका लागि हेलिकप्टरसहित उद्दार टोली ल्याउनलाई केन्द्रमा अनुरोध गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । शुक्रबार राती पहिरो गएपछि बैंसरी र राम्चे–९ फेदीका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको थियो ।
वस्ती सारिएका कारण पहिरोले मानवीय क्षति भने हुन पाएन । एक्कासी गए राती ठूलो आवाज आउनेगरी पहिरो खस्दा कालीगण्डकी थुनिएपछि भागदौड मच्चिएको थियो । अहिले पहिरो खसिरहेको र नदीमा पानीको बहाव घटेकाले पनि खतरा सङ्केत थप देखिएपछि छ ।


