काठमाडौं, २४ असोज । मुलुकमा ३८औं प्रधानमन्त्रीको चयन हुँदै गर्दा भर्खरै एमाओवादी छाडेर नयाँ शक्ति निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको सचिवालयले बाबुरामलाई सरकार बनाउने वा गिराउने कामसँग जोडेर गरिएको हल्लाको खण्डन गरेको छ ।
भट्टराईका निजी सचिव विश्वदीप पाण्डेले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै सदनमा अाज हुने प्रधानमन्त्री निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अाफू निकट सांसदहरूलाई मतदान गर्न रोक्दैछन् भन्ने निराधार हल्लाको खण्डन गरेका हुन् ।
‘संसदमा अाज हुने प्रधानमन्त्री चुनावमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अाफू निकट सांसदहरुलाई मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छाैं,’ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पाण्डेले नेता भट्टराई पहाड र मधेसको एकतालाई बलियो बनाउने अभियान र आर्थिक विकास तथा समृद्धिको लागि विज्ञहरुसँग छलफलमा लागिरहेको भन्दै बाबुरामको नाम जोडेर आएका खबरहरु निराधार भएको दावी गरेका छन् ।
यस्तो छ बाबुरामको सचिवालयको खण्डनसंसदमा अाज हुने प्रधानमन्त्री चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अाफू निकट सभासदहरूलाइ मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छाैं ।वहाँ अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पार्न चाहन्छाैं । वहाँको एउटै ध्येय छ, पछिल्लो समयमा कमजोर हुँदै गएको पहाड-तराइ-मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्ने । त्यसका लागि वहाँ विगत केही समयदेखि क्रियाशील रहदै अाउनुभएको सर्बविदितै छ ।राजनीतिक दाउपेचमा मात्रै अल्झिनु भन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ अार्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा वहाँ विज्ञहरूसँग छलफलमा केन्द्रित हुनुहुन्छ । विज्ञ र सरोकारवालाहरूसँगको छलफल र अान्तरिक तयारी पश्चात वहाँले मुलुकको अार्थिक समृद्धिको योजना सार्वजनिक गर्नुहुनेछ ।धन्यवाद !
