रिपोर्टिङका क्रममा हामी राङ्सी–९, भनभने पुग्दा उपराष्ट्रपति नन्दकिशोर
पुन पासाङका ८२ वर्षीय बुवा रामसुर पुन काइलो छोराको घरमा भैसीलाई घाँस
हाल्दै थिए। ९ गते रोल्पा खुला दिसा मुक्त तथा साक्षर जिल्ला घोषणा
कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति आउने। अनि सोही अवसरमा आफ्नो घर गाउँ
पनि पुग्ने कार्यक्रम तय भएकाले राङ्सीकै ‘राङ्सीपोखरा’ सम्मको यात्रा तय
भयो।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाको देविदत्त गणका गणपति
कर्णेल विनोद चन्द, प्रहरी प्रमुख रमेश थापा, अनुसन्धान प्रमुख नरेन्द्र
गिरी, प्राविधिक कार्यालयका डिभिजन इन्जिनियर केदार शर्मा र पंक्तिकार
नन्दकिशोर पुनको आगनमा पुग्दा घर सुनसान थियो। घर छेउमा बाँधिएका एक हल
कालो रङका रहर लाग्दा गोरु ‘स्वाँ स्वाँ’ गर्दै थिए नयाँ मान्छे देखेर।
छिमेकीबाट खबर पाएपछि काइलो छोराको पल्लो पाखाको घरबाट हामी भए तिर आए
रामसुर। टोपी, हाइनेकमाथि कालो ट्रयाक, सेतो सुरुवालसँगै गोल्ड स्टार
जुत्ताको पहिरणमा सजिएका थिए रामसुर। आफ्नै सुरमा आँगन पुग्नै थालेका उनलाई
सबैले एकै पटक ‘बुवा नमस्कार’को अभिवादन समेत अलमलाएन। छिमेकीको सहयोगमा
प्लाष्टिकका कुर्सी अनि तीनवटा गुन्द्री बाहिर निकाले।
सामान्य गफ गाफ, हेर्नु, भेट्नु र फोटो खिचाउनु, औपचारिकतासँगै हाम्रो टोली
पुग्नु थियो करिब ९ किलो मिटर पर कच्ची बाटो पार गर्दै राङ्सीपोखराको
विद्यालय।
म जान चाहिँन। ८२ वर्षिय रामसुरसँगको भलाकुसारीको रहरले सुरक्षा
प्रमुखहरुलाई विदा गरी भनभने मै एकाध घण्टा रहे। उपराष्ट्रपति जन्मे
हुर्केको पुरानो घरको पिँढीमा गुन्द्री विछाइदिए एक जना छिमेकीले।
‘कति वर्ष पुग्नु भो बा ?’
‘८२ पुगे। १९९१ चैतको जन्म हो। गते बार नागरितामा छ। विर्से।’
को को बस्नु हुन्छ घरमा ?
‘खै को को बस्नु नी। २०५२ सालमा रुघाखोकीको निहुले जोडा (श्रीमति) बिति। एक्लै बस्छु।’
‘छोराछोरी कति नि ?’
‘५ भाई छोरा। कान्छो कमल शहिद भो। २०६० साल तिर इन्डियाबाट पक्रेर नेपाल
ल्याइ मारेका रे। लाश त देखिन। छोरी तीन बहिनी हुन्। एउटी छोरी पनि सानैमा
बिति। छोराहरुले मानो खाएपछि (छुटिएपछि) एक्लै बस्न लाको चार वर्ष हुन्छ
आउने फागुनमा। जेठो छोरा पोखरामा खानेपानीमा काम गर्छ। उतै बस्छ। माइलो
उपराष्ट्रपति भो। उसका परिवार परिवार पनि उतै काठमाडौँमै छन्। साइलो
राङ्सीपोखरा स्कुलको हेडसर छ। बुहारी हेल्थ पोष्टमा डाक्टर (मासिका) छ। उतै
बस्छन्। काइँलो यतै बस्छ। किसानी गर्छ। हिजो आज गाउँतिर खानेपानीको काममा
गा’छ। दाजुको खानेपानीको काम होकी।’ एकै सासमा छोराहरुको जानकारी दिए।
छोरो उपराष्ट्रपति भएको टेलिभिजनमा हेर्न नपाएकोमा थकथकी छ रामसुरलाई।
‘चट्याङले हानेर भएको एउटा टीभी पनि बिग्रेको छ।हेर्नै पाइन। अरुले त देखे
होलान्। मैले देख्न पाइन। अहिले सम्म नि माइलो (पासाङ) लाई टीभीमा देख्न
पा’छैन।’ छोरो ठूलो मान्छे भएको थाहा भए पनि अरुले सुनाए जस्तो देख्न
नपाउँदा कस्तो खल्लो अनुभव छ, रामसुरलाई।
‘जेठोले अस्ति आउँदा पत्रिका ल्या’थ्यो। सिन्दुर, माला ला’को गज्जब थ्यो।
त्यो नि कता गो कता। नेपाली त पढ्थे नि। त्यो हुने पत्रिका का राखे का।
कसैले लग्यो कि ?’
‘छोरा उपराष्ट्रपति भएको सुन्दा कस्तो लाग्यो त बा ?’
‘सुन्दा खेरि त अचाक्ली राम्रो लाग्यो। राम्रो त हुने नै भो। छोरोमाथि गो।’
माइलो छोरामाथि पुगेकोमा फुरुङ्ग भएका रामसुरसँग काठमाडौ जाने, सुख शयल
भोग्ने, मिठो खाने, कुनै इच्छा छैन।
उता (काठमाडौँ) गए यताको पाखो जोत्ने, गोरुलाई घाँस, पखेराको दाउरा, छिमेकी
अनि आफ्नै घर आगन सबैको माया छ। गए पनि दुई चार दिन जो तर तुरुन्तै यतै
आइहाल्ने सोच छ उनको।
‘यस पटक माइलो (नन्दकिशोर) आयो भने टीभी जोड्न भन्छु। सिकाए भने जान्नेल्छु एउटा फोन पनि किन्न लाउनु पर्ला यसपाला।’
छोरा उपराष्ट्रपति हुँदाको तस्वीर घरमा भएको टीभीमा हेर्न नपाएको थ कथक
एकातिर छ भने ठूलो मान्छे भयो भनेर सुनेपनि अहिलेसम्म फोनमा कुरा भएको छैन
बाऊ छोराको। ‘चुनाव उठेको छु है बा भनेर त फोन त ग¥यो जितेपछि कुरा
भा’छैन।’
‘उहिले सेना,पुलिस आउँथ्ये वनमा बसिन्थ्यो। माइलोलाई त झन् तल चप्का मेलामा
गोली हान्या हो पुलिसले। भाग्यले बाच्यो।’ जनयुद्ध सुरु नहँुदै २०५१ साल
मंसिरमा इरिबाङको चप्का मेलामा प्रहरीले छोरालाई गोली हानेको स्मरण सुनाए
रामसुरले।
‘माइलोले मादल बजाउँदै थ्यो। म नाच्दै थे। पुलिसले घेरा हालेछ। लडाइ भो।
दुईजना त्यही ढले (मरे)। गोली हान्या रैछ। माइलोले पुलिसलाई जिताएर भाग्यो।
छातीमा हानेको गोली कुइनोमा लाग्यो। खोला नाघेर छोरो भागेको हेरिरहे।’
त्यसपछिका घटना क्रमका बारेमा धेरै बोलेनन उनी। छोटो मै बताए। ‘तीन वटा घर
भत्काई दिए सेना पुलिसले। उनीहरु गाउँ छिरे भने हामी जंगल पस्थ्यौ। माइलो
नि सेना तिरबाट माथि गो। तेत्रा सेना तयार ग¥यो, लड्यो र ता देशमा राम्रो
आउन ला छ।’ सन्तोष गरे उनले।
विहानै उठ्यो। गोरुलाई गोठबाट बाहिर सा¥यो। हिजो दिउँसै काटेर राखेको घाँस
हाल्यो। घर भित्र पस्यो। चुलोमा दाउरा सल्कायो। तातो चियासँगै मकै भटमासको
खाजा।
घाम डाँडामाथि आउँदा नआउँदै थोरै घाँस काट्यो। पानी भ¥यो अनि भात भान्सा।
दिन भरी घाँस, दाउरा, गोरु चरायो। एकै छिन छिमेकी सँगको गफगाफ।
घरमा पुग्यो। गोरुलाई पानी खुवायो। मल सोत्तर ग¥यो। चिसो बढ्छ। गोरुलाई
भित्र गोठमा हुल्यो। अनि फेरी आफ्नो भात भान्सा। खाना खायो। भाडा माज्यो।
करिब ६ बज्छ। रेडियो खोल्यो। एउटा चुरोट झिक्यो सल्कायो। अनि विस्तारै
‘निद्रा सपना’। दैनिकी हो रामसुरको।
त्यसो त छिमेकीलाई काम सघाउनका लागि केही पैसा दिएर सहयोग पनि मागेका छन्,
उनले। बेला प¥यो भने थोर थार त अहिले पनि बारिको पाखो आफै जोत्छन् उनी।
‘यो सबै मैले चिरेको दाउरा हो। मजाले बन्चरो चलाउँछु अझै। साना रुखबाट आफै
स्याउला झार्छु।’ हसिलो मुद्रामा आफैले चिरेर राखेको दाउरा देखाउँदै सुनाए
उनले।
हुन पनि हो ८२ वसन्त पार गरेका रामसुर उकाली, ओराली त सजिलै गर्छन नै। गाई
गोठ, खेतबारी, भात भान्सा सबै भ्याउँछन्। ‘कहिले कसो बुहारीकोमा पनि
खान्छु। नत्र त आफै पकाउँछु’ रामसुरले थपे।
‘छोरा उपराष्ट्रपति भएपछि को–को भेट्न आए त बा ?’
‘खै मस्तै मान्छे आए। को–को हुन चिन्दैन। अस्ति पार्टीका पनि आएर ऊ त्यो
घरमा भोज गरे। आउन त आइरन्छन को हुन था पाउँदिन।’ २०२२ साल कात्तिकमा गाई
पूजाको अघिल्लो दिन जन्मिएका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई १०
कक्षासम्म त बाले पढाए त्यसपछि आफै पढे उनले।
‘माइलो सानैबाट उटपट्याङ गथ्र्यो। छाताको डन्डीखुट्टामा बारुद भथ्र्यो। पड्काउथ्यो।
पुस ९ गते सदरमुकामको कार्यक्रम सकाएर १० गते छोरो हेलिकप्टरमा गाउँ आउने
भन्ने सुनेर दङ छन् रामसुर। गाउँमा कार्यक्रम हुने भनेको राङ्सीपोखरा
माविसम्म पुग्न पैदल २ घण्टाको दुरी पार गर्नु पर्छ उनलाई।
‘खै यतै आउने भो भने त जान्न। नत्र त छोरो भेट्न जान्छु।’ संविधान सभाको
चुनावमा काठमाडौं क्षेत्र नं. २ बाट छोराले चुनाव हार्दा असाध्यै दुख
मानेका थिए रामसुर।
‘माइलो जनसेनामा नलागेको भए यो नयाँ जमाना का आउँथ्यो र ? तेत्रा फौज जम्मा
ग¥यो। लड्यो। जित्यो। र पो यस्ता दिन आए।’ संविधानमा के के आयो ? के नपाएर
मधेश आन्दोलन भयो ? आदि इत्यादि नबुझेपनि देशमा संविधान आएकोमा खुशि छन्
उनी।
‘अब माइलोले राम्रो गरोस। सबैलाई सुख र खुशि राखोस। यत्ति हो। आफू त बुढा भएँ। कहिले हो कहिले, उनले भने।’