उसलाई जब पहिलो पटक देखेकी थिएँ, ऊ निकै सान्त थियो, सुशील देखिन्थ्यो अनि
ब्यवहारिक पनि। बोली निकै मिठो, त्यही कारण मैले उसलाई मन पराएकी थिएँ।
बिस्तारै हामी नजिकिन थालेका थियौं। कुराकानीको क्रममा पटक-पटक उसले मसँग
केही लुकाएको छु भनिराखेको हुन्थ्यो, तर के हो उसले मलाई कहिलै भनेन। भेटमा
मभन्दा ज्यादा अनि च्याटमा मभन्दा कम नै बोल्थ्यो। भन्थ्यो,‘कुनै दिन
तिमीलाई म सबै बताउँछु। तर, तिमीले त्यो सुनेपछि मलाई छोडेर जान्छौ कि
भन्ने डर लाग्छ।’
कुराकानीको क्रममा उसले प्रायः आफू असामान्य रहेको भन्दै आज कुरा गर्दिन
भनेर टार्थ्यो। हाइ हेल्लो मै कुरा सकाउँथ्यो! कारणहरू- आज नाइट पार्टीमा
जानुछ, आज ड्रिंक धेरै गरेर भोमिट भयो, टाउको दुखेको छ, आज एक्जाम छ यस्तै
यस्तै।
उसका कुराहरू सुन्दा लाग्थ्यो ऊ नेपालमा नभएर बिदेशको कुनै सहरमा छ, आफ्नो
मूल्य र मान्यता भन्दा धेरै टाढा! जहाँ यी सबै कुराहरू खुलेआम गर्न फरक
पर्दैन। चिनजानको करिब एक बर्षपछि एकदिन अचानक उसले फोन गरेर न्यूरोडको
एउटा क्याफेमा बोलायो।
म उसलाई निकै राम्रो साथी मान्थे, लाग्थ्यो फेसबुक र भाइबरमा हुने
कुराकानीमा उसले मेरो मन विचार गर्न आफूलाई नकारात्मक सावित गर्न खोज्दैछ
वास्तवमा ऊ त्यस्तो छैन। किनकी, समाजमा उसलाई सबैले राम्रै नजरमा हेर्ने
गर्थे पनि।
म उसले बोलाएकै समयमै आउँछु भने अनि गएँ पनि किनकी, म उसलाई प्रेम गर्न
थालेकी थिएँ। म त्यही पुगेँ, उसले म:मः अनि एउटा एउटा चिसो मगायो।
कुराकानी सुरू उसैले गर्यो-खाजा खाएर आएकी कि नखाइ? मैले छैन जवाफ दिएँ।
जाडो मौसम थियो, दिउँसोको समय भएकोले सर्टमात्र लगाएकी थिएँ। मलाई हल्का
जाडो भइराखेको थियो, सायद उसले हेरिरहेको हुँदो हो, मायालु पारामा
भन्यो-अलि बाक्लो कपडा लगाएर आउनुपर्छ नि। मलाई त्यतिबेला उसको प्रेमको
आभास भएको थियो अनि लागेको थियो आखिर माया गर्नेरहेछ मलाई। फेरि शून्यता
भंग गर्दै भन्यो, ‘तिमीलाई एउटा कुरा भन्नु थियो भनौं? ‘मलाई तिम्रा हरेक
कुराहरू मन पर्छ तर तिमीनै मन पर्दैन।’
मैले मन अमिलो बनाए तर उसलाई त्यो भान हुन भने दिइनँ अनि हाँसेको अभिनय
गर्दै भने,‘मलाई आजसम्म कसैले नराम्री भनेको थिएन तपाईँ पहिलो हुनुहुन्छ।
ठीकै छ नि त तपाईँ कुनै राम्री केटी खोजेर बिहे गर्नुहोस्, मसँग बिहे
नगर्नुहोस्।’
मेरो कुरा सकिनै लाग्दा उसले भनिहाल्यो,‘मैले तिमिसँग बिहे गर्नको लागि
प्रेम गरेकै होइन, के प्रेम गर्दैमा बिहे गर्नुपर्छ र?’ म दंग परे। जुन
मेरो सोचभन्दा धेरै माथिको कुरा थियो किनकी बच्चादेखि आजसम्म मैले जति पनि
प्रेमकथा पढेकि थिएँ, सिनेमा हेरेकी थिए सबैमा प्रेम जोडीको मिलन मात्र
थाहा पाएकी थिएँ। ‘सुन, खासमा मैले तिमीलाई भन्न खोजेको कुरा भन्छु अब।
यो सुनेपछि तिमी मसँग हुन्छौ कि हुँदैनौं त थाहा छैन तर म तिमीलाई आज एउटा
मेरो भित्री रहस्य खोलिदिन्छु।’ म चुपचाप सुनिरहेँ, ऊ भन्दै गयो,‘म तिमीले
सोचेजस्तो केटा होइन, तिमीलाई के लाग्छ, आजकालको जमानामा ड्रिंक गर्दैमा
खत्तम भन्न मिल्छ र? म पिउँछु तर स्टाण्डर्ड भोड्का! जिन्दगीमा हरेक अनुभव
लिनुपर्छ, मसँग धेरै अनुभव छ। मलाई यी सबै कुरामा साथ दिन्थी मेरी एक्स
प्रेमिका जो आज मसँग छैन, तरपनि उसलाई म कदापी भुल्न सक्दिनँ। हो, उसैले
मलाई सिम्पलबाट स्टाईलिस हुन सिकाइ, उसँग सँगै पिउन सिकेँ, सँगै हुक्का
तान्न सिकेँ, सँगै डान्स बार जान सिके, हरेक शनिबार हामी घुम्न जान्थ्यौ,
फोनमा रातभर कुरा गर्थ्यौ। खाएर गल्लिमा सुत्न पो हुँदैन त, साथीहरूसँग
रमाइलो गर्न जति नि हुन्छ।’
म उसको कुरा सुन्दै थिएँ, अनि आफ्नो भ्रम एक-एक गरि खुलस्त हुँदै थियो पनि।
त्यसो त म हरेक भेट उसँग केही टाढा नै बस्थे, त्यही कुरालाई प्रसंग बनाएर
उसले भन्थ्यो, तिमीलाई छुदा के तिमी प्रेगनेन्ट हुन्छौ र? हग गर्न, किस
गर्न नि नहुने। यदि मैले तिमिलाई सेक्सको लागि अफर गरेँ भने तिमी के
गर्छौ?’
म जवाफ फर्काउथेँ, ‘अनुहारमा थुकेर गालामा दुई थप्पड हानेर छोड्थे।’
लाग्थ्यो उसले मसँग कुनै परीक्षा लिइरहेको छ। वास्तविकता छर्लंग हुँदै
थियो। उसलाई मैले गर्ने सबै प्रेम घृणमा परिणत हुँदै थियो। मलाई उसका
कुराहरूले ऊ प्रती घृणा उत्पन्न गराइरहेको थियो, के भनौ के नभनौ अवाक बन्दै
थिएँ।
अझ भनौ मैले पुरूषजातिको एउटा घिनलाग्दो रूप देख्दै थिएँ, सम्पूर्ण पुरूष
जातिमाथि नै घृणा उत्पन्न भइराखेको थियो। यत्तिकैमा वेटरले मःमः अनि चिसो
लिएर आउँछ। भोक त मेरो मरिसकेको थियो, त्यसैले ग्लासमा चिसो लिएर तातेको
मनलाई राहत गराउन लागेँ।
एकछिन सन्नाटा छायो। त्यतिखेर मेरो मनमा एक्कासी उसँगको त्यो च्याट याद भयो
जसमा भर्जिन के हो भन्ने कहिल्यै नसुनेकी मलाई उसले खिस्सी गर्दै सोधेको
थियो-‘तिमिलाई भर्जिन भनेको थाहा छ? मलाइ बिहे पूर्व सेक्सको अनुभव लिन मन
छ।’ अनि मनमनै उसलाई आज यही प्रश्न गर्छु भन्ने सोचेकी थिएँ कि कतै हाम्रो
समाजमा एकदमै नराम्रो मानिने यो कुराको अनुभव पनि त छैन?’
तर, आँट भने थिएन। ‘किन चुप लागेकी?’ ऊ सायद केही सुन्न चाहन्थ्यो तर म
सुनाउन चाहन्थिन। मनमा गुम्सिराखेको कुरा सोध्न सकेकी थिइन। यत्तिकैमा
एक्कासी उसले सोध्यो-‘आर यू भर्जिन?’ त्यो आवाज कानमा पुग्नेबित्तिकै मेरो
हातको ग्लास भुइँमा खसेको भान भयो, आँखा बन्द जस्तो भयो अनि त्यही शब्दले
बारम्बार धक्का दिइरह्यो,-आर यू भर्जिन? ..........’।
