एआइभी संक्रमित विद्यार्थीका लागि शिक्षा आर्जन गर्ने अवसर पनि चुनौतीपूर्ण , विद्यार्थी साथीहरुको व्यवहारले विद्यालय पनि विरानो वन्दै
भनिन्छ नै रोगीलाई माया गर्नु रोगलाई होइन । तर नेपाली समाज अझै त्यति बढी उदार र सहिष्णु वनिसकेको छैन , जस्ले रोगीलाई जस्तोसुकै अवस्थामा जहाँ पनि स्वीकारोस । यस्तै अवस्था छ विद्यालयहरुमा पनि । अझ फरक प्रकृतिका विद्यार्थीहरुका लागि त अन्य विद्यार्थीसँगै पढ्नु पनि कुन जुनीको पाप झै भएको छ । एचआइभी संक्रमित भएकै कारण कीर्तिपुरका केही विद्यार्थीहरु पढ्नबाटै बञ्चित हुने अवस्थामा पुग्नु पीडादायी बनेको छ ।
८ वर्षकी सोनुलाई एचआइभी संक्रमण छ । आमा र बुवालाई एचआइभी भएकै कारण उनलाई पनि जन्मजात यसको संक्रमण भयो र उनी यतिबेला एक संस्थाको संरक्षणमा आश्रय लिइरहेकी छिन् । गितमा भनिएझैं मान्छे नमर्ने कुनै शहर हुँदैन, तर भागेर जाने ठाउँ पनि छैन । एचआइभी पोजिटिभ भएको थाहा पाएपछि परिवार र समाजले पनि तिरस्कार गर्न थालेपछि सोनु यतिबेला बेवी लाइफ होम नामक एक गैरसरकारी संस्थाको साहारामा कीर्तिपुरमा बसिरहेकी छिन् । परिवारबाट तिरस्कृत भएपछि सोनुलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ र यतिबेला उनी उपचार गराउँदै कक्षा २ मा पढिरहेकी छिन् ।
१४ वर्षकी मञ्जु चन्द पनि एचआइभी संक्रमित बालिका हुन् र भविष्यमा समाजसेवा गर्न चाहन्छिन् । यिनी पनि यही संस्थामा आश्रय लिइरहेकी छिन् र सुन्दर भविष्यको कल्पनामा आफ्नो अध्ययनलाई थप तेजिलो बनाउँदै छिन् ।
एचआइभी संक्रमित बालक प्रकाश भण्डारी भने भविष्यमा मेकानिकल इञ्जिनियर बन्न चाहन्छन् ।
यी सुन्दर सपनामा सजिएकाहरुलाई यतिबेला अर्को समस्या थपिएको छ । त्यो हो, संक्रमित भएकै कारण अन्य विद्यालयले भर्ना नलिनु । हाल यिनीहरु पढिरहेको विद्यालयलाई जिल्ला शिक्षा कार्यालय काठमाडौंले वैकल्पिक विद्यालयकारुपमा ५ कक्षासम्मको मात्रै अनुमति दिएको छ । तर कक्षा ८ जिल्ला स्तरीय परीक्षा हुने भएकाले उनीहरु तनाबमा छन् ।
सरकारको शिक्षा नीतिले सबैलाई शिक्षा भनेको छ । तर एड्स भएकै कारण विद्यालयले भर्नासमेत नलिनु दुःखद कुरा हो । अहिले एआरभी खाएर एड्ससँग लडिरहेका उनीहरु पनि अन्य मानिसहरु झैँ लामो समय बाँच्न सक्छन् । उनीहरुले पनि अन्य मानिसहरुले झैँ काम गर्न सक्छन् र सपना देख्न सक्छन् । तर एकातिर अन्य विद्यालयले भर्ना नलिनु र अर्कोतिर कक्षा थपको स्वीकृति नपाउँदा उनीहरु तनाबमा छन् । राज्यले यस्ता विशेष अवस्थाका बालबालिकाको समस्याको सम्बोधन गर्नै पर्छ ।