ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » एमाले बैठकमा ओलीका ११ जवाफ

एमाले बैठकमा ओलीका ११ जवाफ

१. नेपाललक्षित व्यंग्य :
अध्यक्षमा फर्किएर किन आउनू ?
मैले किन गुटबन्दी गर्नु ? म यही (अध्यक्ष)मा फर्किएर आउन चाहन्नँ, पार्टीले मलाई यो स्थानमा पुर्‍याइसकेको छ भने फर्किएर किन आउनू ? केही–केही मान्छे आफूसँग अनुभव छ भन्छन्, त्यस आधारमा पद चाहियो भन्छन्, तर म अर्कोपटक (दशौँ महाधिवेशन) मा दावा गर्दिनँ, त्यहीअनुसार काम पनि गर्छु । जिल्ला अधिवेशन भइरहेका छन्, २० वटा सम्पन्न हुँदा १६ वटामा हामीले जित्यौँ भन्ने हल्ला चलाएर चारवटा पार्टीका रे भनिन्छ, यस्तोचाहिँ गुटबन्दी हो कि के हो ?
२. स्वास्थ्यको चिन्ता नगर्नुस्, हजुरआमा १०२ वर्ष बाँच्नुभो
मेरो स्वास्थ्यका विषयमा साथीहरूले कहिले–कहिले कुरा उठाउँछन्, यस सन्दर्भमा नवौँ महाधिवेशनअघि साथीहरूले चिन्ता जनाएर शुभेच्छा प्रकट गर्नुभो । त्यसवेला उहाँहरूलाई त्यस सन्दर्भमा यस्तो जवाफ दिएको थिएँ– हाम्रो सन्तानको आयु छोटो छ, मेरी हजुरआमा बल्ल–बल्ल एक सय दुई वर्ष बाँच्नुभो, हजुरबा त्योभन्दा कम ९९ वर्ष, मेरो बुबा पनि हेर्दाहेर्दै बुढो भइसक्नुभो ।
३. कमजोरी नै छैन त प्रतिवेदनमा के लेख्नू ?
प्रतिवेदनमा कमी–कमजोरी लेखिएन भनिन्छ, कमजोरी नै छैन त के लेख्नू ? भारत–चीनसँग सम्बन्ध सुधारका लागि भ्रमण गर्दा बैठक बस्न ढिलो भो । यसक्रममा तपाईंहरूको अध्यक्ष र प्रधानमन्त्रीले जे काम गर्‍यो, त्यसले पार्टीको प्रतिष्ठा बढाएको छ । त्यसैले केन्द्रीय सदस्यहरूबाट प्रशंसा हुन्छ भन्ने लागेको थियो । तर, आलोचना पनि आएको छ, सहर्ष स्विकार्छु, मलाई सतर्क गराएको छ ।
४. ‘अन्डरमाइन्ड’ नगर्नुस्
यही केन्द्रीय कमिटीले प्रधानमन्त्री चुन्यो, राज्यको नेतृत्व गर्दै देश र पार्टीको शिर उच्च बनाएको छु र अब पनि बनाउने काम गर्छु । एमालेको प्रश्न, देशको प्रश्न, पुनर्निर्माण र समृद्धिको प्रश्नसँग जोडिएर काम गरिरहेको छु, त्यसैले केन्द्रीय कमिटीलाई ‘अन्डरमाइन्ड’ गर्‍यो भन्ने नसोच्नुस् ।
५. तराईमा विशेष योजना : विशेष अभियान
आफूलाई तराईका ठेकेदार भन्नेले त्यहाँको वर्गीय शोषण, उत्पीडन, सांस्कृतिक रूपमा रहेका कुरीतिलगायत कुनै पनि समस्या उठान गर्न सक्दैनन् । त्यहाँ चरम शोषण छ, बोक्सी प्रथा, दहेज प्रथा छ, महिला उत्पीडिनमा छन्, साक्षरतादर न्यून छ, त्यसैले तराईमा पार्टीले विशेष योजना बनाएर अभियान सुरु गर्छ ।
६. अब समृद्धिको लडाइँ–टिम बनाउँछु
हिजो हामीले राष्ट्रियता बिखण्डन, उग्रवामपन्थता र दक्षिणपन्थताविरुद्धको वैचारिक कामलाई अघि बढायौँ, अब समृद्धिको सन्दर्भमा वैचारिक संघर्ष गर्छौँ ।
७. अरूलाई पनि सरकारमा ल्याउँछौँ
यो सरकारको मुख्य ‘मिसन’ संविधान कार्यान्वयन हो, सरकारमा यसका लागि लाग्ने राम्रा मान्छे छन्, तर यतिले मात्रै नहोला, अरूलाई पनि राम्रो बनाएर ल्याउने कोसिस गर्छौँ । देशलाई कता लैजाने भन्ने ‘मिसन’अनुसार अहिलेको समीकरणलाई चलाउँछौँ ।
८. संक्रमणकालबाटै समाजवादतिर
अहिले हामी राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संक्रमणकालमा छौँ, यसलाई पार गर्दै समाजवादतिर जान चाहन्छौँ, यसका लागि पुँजीवाद स्थापनातिर होइन, पुँजीको विकास गरेर अघि बढ्छौँ ।
९. आठ लाख भत्किएका छन्, पुनर्निर्माण कसरी छिटो हुन्छ ?
भूकम्पपीडितहरूलाई छिटो सुरक्षित आवासमा फर्काउन सरकारले पुनर्निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइरहेको छ । त्यसैले काम नगरेर पुनर्निर्माणमा ढिलाइ भएको होइन, काम गर्दागर्दै ढिलाइ भएको हो । आठ लाख घर भत्किएका छन्, सोचेजस्ता त्यति छिटो पुनर्निर्माण हुन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ ।
१०. साम–दाम–दण्ड–भेद परास्त
माइक हान्ने ठाउँबाट एउटा पक्षलाई १६ बुँदे सहमतिमा पुर्‍यायौँ । त्यसपछि एउटा शक्ति जसरी हुन्छ, संविधान बन्नै नदिने, अर्को शक्ति बने पनि नेपाललाई दूरगामी असर परोस् भन्ने, दुवैसँग जुधेर संविधान जारी गर्‍यौँ । एमालेको यो भूमिकाको मूल्यांकन अहिले नहोला, तर इतिहासले गर्नेछ । त्यसपछि सरकार बन्न नदिन साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग भो, तर परास्त गरेर हाम्रै नेतृत्वमा सरकार बनायौँ, राष्ट्रपति पनि बनायौँ ।
११. उखानले बिग्रियो पार्टी : जवाफ उखानबाटै
उखान–टुक्काले देश, पार्टी चल्दैन भन्ने बाहिर हल्ला गरिन्छ, तर यस्तो हल्ला गर्ने नै ‘बेवकुफ’ हुन् । एकजना अत्यन्तै मिल्ने जोडी रहेछ । यो देखेर छोरालाई कसैले फुटाउन नसकेको काम म गर्छु भन्ने भोग जागेछ । बाबुलाई गएर आमा बोक्सी सिक्न हिँड्नु भो, नपत्याए सुँघ्न आउँदा थाहा पाउनुहुन्छ भन्दियो । आमालाई चाहिँ बुबा रातिराति रक्सी खान हिँड्ने बानी लाग्यो, सुँघेपछि थाहा होला भन्दियो । एक दिन बाबु निदाएझैँ गरिरा’ थिए, आमा सुँघ्न जाँदा साँच्चै गनायो । कुरो प्रमाणित भयो । यस्तै कुराबाट पार्टी बिग्रिएको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview